Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 07, 2012
भक्तपुरका निवर्तमान सभापति राधेश्याम जोन्छेको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

जेठ २५, २०६९
प्रेस विज्ञप्ति
 नेपाली कांग्रेस भक्तपुरका निवर्तमान सभापति एवं कांग्रेस नेता ६९ वर्षीय राधेश्याम जोन्छेको त्रि.वि.वि.शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा हिजो बेलुका ११ः३० बजे निधन भयो । पिता पूर्णलाल जोन्छे र माता प्रेम जोन्छेका सुपुत्र स्वर्गीय जोन्छे नेपाल विद्यार्थी संघ भक्तपुरको सभापति हुँदै २०२७ सालमा नेविसंघको केन्द्रीय महामन्त्री, २०३३ सालमा केन्द्रीय उपसभापति हुनुहुन्थ्यो र पञ्चायती व्यवस्थाका विरुद्ध अनवरत रुपमा क्रियाशील रहनु भएको थियो । उहाँ ३ कार्यकाल नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिको सभापति रहनु भएको थियो । प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका स्वर्गीय जोन्छेलाई तत्कालीन नेकपा (माओवादी) ले २०५९ भाद्र १६ गते गोलि हानेका थिए । २०४८ र २०५१ को आम निर्वाचनमा उहाँ भक्तपुर निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । प्रजातान्त्रिक समाजवादप्रति अटुट आस्था राखेर नेपाली कांग्रेसको हरेक आन्दोलनमा होमिनु भएका स्वर्गीय जोन्छेले पटक–पटक जेल जीवन व्यतित गर्नु भएको थियो । उहाँको एक पत्नी र ३ छोराहरु हनुहुन्छ ।
स्वर्गीय जोन्छेप्रति श्रद्धाञ्जली व्यक्त गर्न उहाँको पार्थिव शरीरलाई आज विहान ८ बजेदेखि १० बजेसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यालय भक्तपुरमा राखिएको थियो । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला लगायत केन्द्रीय नेताहरु तथा उपत्यकाका तीनै जिल्लाका सभापतिहरु र ठूलो संख्यामा पार्टीका कार्यकर्ताहरुले स्वर्गीय जोन्छे प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । आजै उहाँको भक्तपुर स्थित हनुमानघाटमा अन्तिम संस्कार गरियो । नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले जेठ २५, २६ र २७ गते पार्टीको झण्डा आधा झुकाउने र उहाँको सम्मानमा ३ दिनसम्म कार्यालय बन्द गर्ने निर्णय समेत गरेको छ ।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले राधेश्याम जोन्छेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ—
 “नेपाली कांग्रेस भक्तपुरका निवर्तमान सभापति राधेश्याम जोन्छेको निधनबाट म अत्यन्त दुःखीत र मर्माहत भएको छु । उहाँले नेपाली कांग्रेसको संगठन विस्तार र नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनामा पु¥याउनु भएको योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”
नेपाली कांग्रेस राधेश्याम जोन्छेको निधनप्रति गहिरो दुःख प्रकट गर्दछ । साथै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ । लोकतन्त्रको सुदृढीकरण र स्थायित्वका लागि अनवरत क्रियाशील स्वर्गीय जोन्छेलाई राजनीतिक पूर्वाग्रहका आधारमा तत्कालीन नेकपा (माओवादी) ले गोली प्रहार गरेपछि २०५९ देखि उहाँ अपाङ्ग रुपमा उपचार गराउँदै आउनु भएको थियो । स्वर्गीय जोन्छे तत्कालीन नेकपा (माओवादी) बाट पीडित रहनु भएको र गोलीको असरबाट उहाँको निधन भएको हुँदा उहाँलाई राज्यले शहीद घोषणा गर्न नेपाली कांग्रेस जोडदार मांग गर्दछ । 

वसन्तकुमार गौतम
मुख्य सचिव
 

Share on Facebook

Attachments#
Jesth, Death of Radhyeshyam Jonchhe.doc (27 KB)  वर्ड फरमेटका लागि डाउनलोड गर्नुहोस्  Download