Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Mar 11, 2017
नेपाली कांग्रेसका सभापति र चिनिया कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डल बीच भेटघाट

फागुन २८, २०७३
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री मा. शेरबहादुर देउवासँग आज विहान उहाँकै निवासस्थान बुढानिलकण्ठमा चिनिया कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका महानिर्देशक Yuan Zhibing को नेतृत्वमा आएको चिनिया प्रतिनिधिमण्डलले शिष्टाचार भेटघाट ग¥यो । सभापति देउवा र चिनिया प्रतिनिधिमण्डल बीच करीब ४५ मिनेटसम्म छलफल भएको थियो । 
 
नेपालको वर्तमान समसामयिक राजनीतिक अवस्था तथा नेपाल–चीन बीचको आपसी सम्बन्ध र सहयोगका विषयमा केन्द्रीत उक्त भेटघाटमा चिनिया प्रतिनिधि मण्डलका नेता Yuan Zhibing ले आफ्नो कार्य व्यस्तताका वावजुद भेटघाटको समय उपलब्ध गराउनु भएकोमा सभापति देउवालाई धन्यवाद गर्नु भएको थियो । नेपाल–चीन बीचको ऐतिहासिक सम्बन्ध सभापति देउवाको प्रधानमन्त्रीत्वकालमा अझ बढी प्रगाढ बनेको र यसलाई थप सुदृढ र प्रगाढ बनाउन चाहेको उक्त प्रतिनिधिमण्डलले जानकारी गराएको थियो । चिनिया प्रतिनिधिमण्डलले सभापति देउवालाई चीन भ्रमणको निमन्त्रणा दिंदै, चिनिया नेता तथा जनता उहाँको चीनमा स्वागत गर्न उत्सुक रहेको जानकारी गराएको थियो ।  
 
उक्त भेटघाटका क्रममा सभापति देउवाले— नेपाल एक चीन नीतिप्रति कटिवद्ध रहेको र यसमा शंका गर्नु पर्ने कुनै आवश्यकता नरहेको बताउनु भएको थियो । नेपाल र चीन बीच सदियौंदेखि धनिष्ट र सुमधुर सम्बन्ध रहँदै आएको तथा चिनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा समय समयमा पार्टीको तर्फबाट चीन भ्रमण गर्ने नेपाली कांग्रेसको प्रतिनिधिमण्डलबाट प्राप्त अनुभव र जानकारीले पार्टीलाई लाभान्वित गरेको समेत सभापति देउवाले बताउनु भएको थियो । 
 
उक्त अवसरमा सभापति देउवाले— संविधान संशोधन गरी मधेशवादी लगायत सबै दललाई सहमतिमा ल्याएर निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने विश्वास दिलाउनु भयो । नेपालको विकासमा चीन सरकार र त्यहाँको जनताले गर्दै आएको सहयोग र सद्भावको उच्च सह्राना गर्दै सभापति देउवाले उपयुक्त समयमा चीन भ्रमण गर्ने समेत चिनिया प्रतिनिधिमण्डललाई आश्वस्त पार्नु भएको थियो ।
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
Share on Facebook

Attachments#
No files