Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 06, 2017
नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मार्शल जुलुम शाक्यप्रति हार्दिक श्रद्धाञ्जली

 वैशाख २३, २०७४
शोक विज्ञप्ति
 
नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मार्शल जुलुम शाक्यको आज विहान ८ः४५ बजे काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भयो । वि.सं. १९९६ असोज २३ गते जन्मनु भएका ७७ वर्षीय स्व. शाक्य विगत केही समयदेखि मुटु सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । स्व. शाक्य वि.सं. २०४३ देखि २०४५ सम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंको कार्यवाहक सभापति हुनुहुन्थ्यो र त्यसपछि केही समयसम्म उहाँ जिल्ला सभापति समेत रहनु भएको थियो । नेपाली कांग्रेसका पुराना नेता स्व. शाक्य नेपाली कांग्रेसका संस्थापक नेताहरु— बी.पी. कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसँग अत्यन्त नजिकमा रहेर राजनीतिमा सक्रिय हुनु भएको थियो । स्व. मार्शल जुलुम शाक्य नेपाल विद्यार्थी संघका संस्थापक सदस्य समेत हुनुहुन्थ्यो । वि.सं. २०४६ सालको ऐतिहासिक जनआन्दोलनका क्रममा स्व. शाक्य केन्द्रीय एक्सन कमिटीको सदस्य हुनुहुन्थ्यो । स्व. शाक्य वि.सं. २०४७ सालमा नेपाली काग्रेसका तत्कालीन कार्यवाहक सभापति एवं सन्तनेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम सरकारमा यातायात तथा आपूर्ति मन्त्री हुनुहुन्थ्यो । नेपालको संविधान २०४७ जारी गर्नमा समेत स्वर्गीय शाक्यले अहम् भूमिका निर्वाह गर्नु भएको थियो । वि.सं. २०१७ सालमा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई अपदस्थ गरे पछि त्यसको विरोध गर्दै अदम्य साहसका साथ सडकमा उत्रने स्व. शाक्य पहिलो व्यक्ति हुनुहुन्थ्यो । स्व. शाक्यलाई तत्कालीन पञ्चायती व्यवस्थाले गिरफ्तार गरेको थियो । पहिलो पटक यसरी गिरफ्तारीमा पर्नु भएका स्व. शाक्यलाई तत्कालीन व्यवस्थाले ७ वर्षसम्म जेलमा राखेको थियो । नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनाका क्रममा संचालित हरेक आन्दोलन र संघर्षमा संलग्न रहँदा उहाँले १४ वर्ष भन्दा बढी समय जेलजीवन व्यतित गर्नु भएको थियो । स्वर्गीय शाक्यले काठमाडौँ र देशका विभिन्न भागमा गरी करीब २ वर्ष भूमिगत जीवन समेत व्यतित गर्नु भएको थियो । 
 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । सभापति देउवाले भन्नु भएको छ— “नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनमा सक्रिय भूमिका निर्वाह गर्नु भएका नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मार्शल जुलुम शाक्यको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । स्व. शाक्यले पार्टीको संगठन विस्तार र नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा जीवनपर्यन्त अनवरत रुपमा नेपाली कांग्रेसमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । लामो त्याग र वलिदानबाट प्राप्त नेपालको संविधान कार्यान्वयनको चरणमा भएको उहाँको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।” 
 
उहाँको पार्थिव शरीरलाई आज अपरान्ह २ः०० बजेदेखि ४ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ र ततपश्चात काठमाडौँको टेकु दोभान स्थित घाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ । 
नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय शाक्यले पु¥याउनु भएको योगदानको स्मरण गर्दै उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files