Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jul 14, 2017
छुट मतदाता नामावली संकलन सम्बन्धमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचन आयोगलाई सुझाव

 असार ३०, २०७४
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेसको एक प्रतिनिधिमण्डलले आज निर्वाचन आयोग गई प्रदेश सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि छुट मतदाता नामावली संकलन गर्ने विषयमा पार्टीका तर्फबाट सुझाव प्रस्तुत गरेको छ । 
आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि २०७३ वैशाख ३ गते निर्वाचन आयोगबाट प्रकाशित मतदाता नामावलीमा नाम समावेश नभएका व्यक्तिहरुका लागि यही २०७४ श्रावण १ गतेदेखि १५ गतेसम्म सबै जिल्ला स्थित निर्वाचन कार्यालयहरुमा छुट मतदाता नामावली संकलन गर्ने निर्वाचन आयोगको निर्णयका सन्दर्भमा उक्त समय अत्यन्त छोटो र वर्षाको समय भएको हुँदा छुट मतदाता नामावली संकलनलाई श्रावण मसान्तसम्म म्याद बढाउन सुझाव प्रस्तुत गरेको छ । 
जिल्लाको सदरमुकाममा मात्रै छुट मतदाता नामावली संकलन गर्ने कार्य व्यवहारिक र भौगोलिक दृष्टिकोणले मतदातालाई कठिनाई हुने र मतदाताको नाम पुनः छुट्न सक्ने हुँदा प्रत्येक गाउँपालिका, नगरपालिका, नगरपालिकाका वडाहरुमा नै नामावली संकलन गर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ ।  
आगामी प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदाता नामावलीमा छुट मतदाताहरुको नामावली संकलन सम्बन्धित जिल्लाको सदरमुकाममा मात्रै गरिने कार्यले वर्षा तथा सडक यातायातको कठिनाईले धेरै मतदाताहरुको नामावली संकलन हुन नसक्ने हुँदा जो जहाँ छन्, सोही ठाउँबाट फारम भरी सम्बन्धित मतदान केन्द्रमा नाम पठाउने व्यवस्था गर्न प्रतिनिधिमण्डलले सुझाव दिएको छ । 
विदेशमा रहेका नेपाली नागरिकहरुको नाम छुट मतदाता नामावलीमा समाविष्ट गराउनका लागि सम्बन्धित देशको नेपाली कुटनीतिक नियोगमा नामावली संकलनको व्यवस्था मिलाई निर्वाचनमा भाग लिने सक्ने अवस्था सिर्जना गर्न सुझाव दिएको छ । 
त्यसैगरी २०७० सालको संविधानसभाको निर्वाचनमा भएका मतदाता नामावली हालै सम्पन्न स्थानीय तहको निर्वाचनको मतदातामा नामावलीबाट हटेको हुँदा तिनीहरुलाई समेत कायम गर्न सुझाव दिएको छ । 
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मा. बालकृष्ण खाँणको नेतृत्वमा गएको उक्त  प्रतिनिधिमण्डलमा केन्द्रीय सदस्यहरु—मा. आनन्दप्रसाद ढुंगाना, मा. महेन्द्र यादव, सांसदहरु— मा. अब्दुल रजाक, मा. रामहरि खतिवडा र पार्टी केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुली रहनु भएको थियो । 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files