Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Aug 12, 2017
बाढी र पहिरोका कारण देशका धेरै स्थानहरुमा जनधनको ठूलो क्षति भएको घटनाप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 श्रावण २८, २०७४
प्रेस विज्ञप्ति
 
केही दिनदेखिको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका धेरै स्थानहरुमा जनधनको ठूलो क्षति भएको र बाढी पहिरोबाट मुलुकभरको जनजीवन प्रभावित भैरहेको छ । बाढी र पहिरोबाट सुनसरीमा ७ जना, झापामा ४ जना, मोरङमा ३ जना, बारामा १ जना, सर्लाहीमा १ जना, बाँकेमा ४ जना, पाँचथरमा ३ जना, दाङमा १ जना, सिन्धुलीमा ४ जना, पाल्पामा १ जना, वर्दियामा १ जना गरी ३० जनाको मृत्यु भैसकेको छ भने ठूलो संख्यामा मानिसहरु वेपत्ता र घाइते भएका छन् । हजारौँको संख्यामा मानिसहरु विस्थापित हुन पुगेको, हजारौँ हेक्टर खेतीयोग्य जमीन डुवानमा परेको, अधिकांश सडक मार्गहरु अवरुद्ध भई यातायात प्रभावित भएको घटनाप्रति नेपाली कांग्रेसको ध्यानाकृष्ट भएको छ र यो विपतप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । लत्ताकपडा, खाना र बस्ने स्थानको समस्याका कारण पीडितहरुको दैनिक जीवन अत्यन्त कष्टकर र असुरक्षित बन्न पुगेको छ । सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति नेपाली कांग्रेस सहानुभूति प्रकट गर्दछ ।
बाढी पहिरोबाट निधन हुनु भएका सबै प्रति नेपाली कांग्रेस श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ । वेपत्ताहरुको तत्काल खोजी गर्न, ज्यान गुमाएका र विस्थापित हुन पुगेका पीडितहरुको यकिन तथ्याङ्क सार्वजनिक गर्न, मृतकहरुलाई क्षतिपूर्ति तथा विपतमा परेका पीडित परिवारहरुलाई तत्काल उद्धार, यथोचित राहत र सहयोग पु¥याउन नेपाली कांग्रेस नेपाल सरकारसँग माग गर्दछ । 
साथै, नेपाली कांग्रेसका स्थानीय पार्टी निकायहरु तथा भातृ एवं शुभेच्छुक संघ संस्थाहरुलाई पनि तुरुन्त घटनास्थलमा पुगेर पीडित परिवारहरुको उद्धार र राहत कार्यमा आवश्यक सहयोग पु¥याउन नेपाली कांग्रेसका सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देश गर्नु भएको छ । 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files