Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jan 02, 2020
पौष १७, २०७६ . नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय देहाय बमोजिम रहेको छ—

 

पौष १७, २०७६
प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । 

बैठकको निर्णय देहाय बमोजिम रहेको छ—

(१) नेपालको संविधानको धारा ८६ (३) बमोजिम प्रत्येक दुई वर्षमा पदावधि समाप्त भई रिक्त हुने राष्ट्रिय सभाका एक तिहाई सदस्यका लागि २०७६ माघ ९ गते सम्पन्न हुन गइरहेको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३२ (९) बमोजिमको कार्यसम्पादन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गर्दछ । आवश्यक परामर्श गरी केन्द्रीय पदाधिकारीको बैठकले राष्ट्रिय सभाका सदस्यको निर्वाचनका लागि उम्मेदवारको निर्णय गरी पार्टीका तर्फबाट उम्मेदवारको घोषणा गर्ने र उम्मेदवारको मनोनयन दाखिला गर्ने व्यवस्था गर्ने ।

(२) राष्ट्रिय सभा सदस्यको रिक्त एक तिहाई पदका लागि हुने निर्वाचनमा विभिन्न राजनीतिक दलहरुसंग आवश्यक सहकार्य र तालमेलका लागि पहल गर्ने । 

(३) राष्ट्रिय सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई सहयोग एवं समर्थन गर्नका लागि संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा रहेका सबै राजनैतिक दलहरु र सबै मतदाताहरुलाई नेपाली कांग्रेस अनुरोध र आह्वान गर्दछ । 

(४) उखु किसानको आन्दोलन बारे
तराई–मधेशका विभिन्न जिल्लामा उखु खेती गरिहेका कृषकहरुले रकम भुक्तानी माग गर्दै काठमाडौँ केन्द्रीत आन्दोलन गरेको महिना दिन पुग्न लाग्दा समेत भुक्तानी दिलाउन सरकारले गम्भीर पहल नगरेको विषयलाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । उखु किसानहरुको आन्दोलनप्रति समर्थन जनाउँदै नेपाली कांग्रेस किसानहरुलाई तत्काल रकम भुक्तानी गर्न चिनी उद्योगीहरुलाई अपील गर्दै, प्रभावकारी पहल गर्न सरकार समक्ष जोडदार माग गर्दछ । 

(५) सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र संचालन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन गर्न लागेको विषय अत्यन्तै गम्भीर छ । नागरिकको ‘फोन ट्यापिङ’ समेत गर्न सक्ने,  सामाजिक सञ्जालमा कसैलाई व्यंग्य गरे वापत ५ वर्ष जेल र १५ लाख जरिवाना तिर्नु पर्ने जस्ता प्रावधानले व्यक्तिगत गोपनियताको संवैधानिक अधिकार हनन हुने र आलोचना एवं व्यंग्य गर्न पाउने नागरिकको स्वतन्त्रतालाई समेत समाप्त पार्ने नियोजित षडयन्त्रका विरुद्ध ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत् सरकारलाई आगामी पौष २८ गते विरोध पत्र बुझाउने बैठकले निर्णय गरेको छ । 


पारित शोक प्रस्ताव ः 
(१) भारतीय राष्ट्रवादी कांग्रेस पार्टीका महासचिव तथा राज्य सभाका पूर्व सांसद डी.पी. त्रिपाठीको आज ६७ वर्षको उमेरमा निधन भएको खबरले हामीलाई स्तब्ध बनाएको छ । स्वर्गीय डी.पी. त्रिपाठी भारतीय राजनीतिका समाजवादी चिन्तक एवं प्रखर वुद्धिजीवी हुनुहुन्थ्यो । उहाँलाई हामी नेपालको एउटा सच्चा समर्थक र नेपाली कांग्रेसको मित्रका रुपमा पनि चिन्दछौं । नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय त्रिपाठीको निरन्तर सहयोग र समर्थन रह्यो । २०४६ सालको जनआन्दोलनमा भारतका विविध विचारमा आवद्ध राजनीतिक दलका नेताहरुको नैतिक समर्थन जुटाउन उहाँको पहल उल्लेखनीय रहेको थियो । नेपालको शान्ति प्रकृया र २०६२÷६३ को जनआन्दोलनमा समेत उहाँको नैतिक सहयोग र समर्थनलाई नेपाली कांग्रेस स्मरण गर्दछ । 

नेपाल, नेपाली जनता र नेपाली लोकतन्त्रका सच्चा समर्थक र सहयोगी स्वर्गीय त्रिपाठीको निधनले नेपालले एक सच्चा समर्थक गुमाएको छ भने नेपाली कांग्रेसले घनिष्ट मित्र गुमाएको छ । नेपाली कांग्रेस पार्टी उहाँको निधनमा गहिरो शोक व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, आत्माको चीर शान्तिको कामना गर्दै उहाँको परिवारजन र राष्ट्रवादी कांग्रेस पार्टी भारतका मित्रहरुमा हार्दिक समवेदना प्रकट गर्दछ । 

(२) नेपाली कांग्रेस ओखलढुंगाका पूर्व जिल्ला सभापति एवं नेपाली कांग्रेसका नेता स्वर्गीय बलबहादुर राईका ज्येष्ठ सुपुत्र ७२ वर्षीय प्रेमराज राई, धनुषा जिल्ला मिथिल्ला नगरपालिकाका नेपाली कांग्रेसका पूर्व क्षेत्रीय उपसभापति रामप्रसाद सिंह, नवलपरासी जिल्लाका पूर्व सहसचिव श्यामसुन्दर चौधरी, नेपाली कांग्रेसका तर्फबाट पूर्व सहायक मन्त्री मीनबहादुर खत्रीका जेठा दाजु बाग्लुङका मानबहादुर खत्री र नेपाल महिला संघ कास्कीका जिल्ला सदस्य, क्षेत्र नं. १ नेपाली कांग्रेसका क्षेत्रीय सदस्य एवं २०७४ को स्थानीय निर्वाचनमा मादी गाउँपालिकामा पार्टीको तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार प्रभाश्री गुरुङको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । 

नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँहरुले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँहरुको आत्माको चिर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति यो बैठक समवेदना प्रकट गर्दछ । 

कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files