Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jan 07, 2020
नेपाली कांग्रेस महोत्तरीका महासमिति सदस्य ५५ वर्षीय ललनकुमार रायको निधनप्रति नेपाली कांग्रेसद्वारा गहिरो दुःख व्यक्त

 पौष २२, २०७६

शोक विज्ञप्ति

नेपाली कांग्रेस महोत्तरीका महासमिति सदस्य ५५ वर्षीय ललनकुमार रायको आज वर्दिवास नजिक बस दुर्घटनामा परी निधन भएको छ । काठमाडौँबाट महोत्तरीतर्फ जाँदै गरेको गंगोत्री यातायातको बस वर्दिवासबाट १० किलोमिटर पर रोकिरहेको ट्रकमा ठोकिदा दुर्घटना भएको थियो । तत्कालै उपचारका लागि विराटनगर स्थित नोबेल अस्पताल लैजादै गर्दा बाटोमै उहाँको निधन भएको थियो । उक्त दुर्घटनामा नेपाली कांग्रेस महोत्तरीका क्षेत्रीय सभापति राधवेन्द्र झा र नेपाली कांग्रेसका सक्रिय व्यक्तित्व जयप्रकाश चौधरी समेत गम्भीर घाइते हुनु भएको छ । घाइतेको जनकपुर स्थित अस्पतालमा उपचार भैरहेको छ । 

महोत्तरीको मनरा सिसुवा नगरपालिका वडा नं. ९, बथनाह गाउँ निवासी स्व. ललनकुमार राय संविधानसभा सदस्य निर्वाचन २०७० मा महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट पार्टीको उम्मेदवार हुनुहुन्थ्यो । वि.सं. २०३६ सालदेखि नै विद्यार्थी राजनीतिमा संलग्न रहेर उहाँले आफ्नो राजनीतिक यात्रा प्रारम्भ गर्नु भएको थियो । २०४९ को स्थानीय निर्वाचनमा जिल्ला विकास समितिको इलाका सदस्यमा उहाँ निर्वाचित हुनु भएको थियो । स्वर्गीय राय नेपाली कांग्रेस जिल्ला कार्यसमिति महोत्तरीको पूर्व कोषाध्यक्ष (दुई कार्यकाल) र नेपाल विद्यार्थी संघ महोत्तरी जिल्ला कार्यसमितिको पूर्व कोषाध्यक्ष समेत हुनुहुन्थ्यो । नेपालमा प्रजातन्त्र स्थापनाका लागि गरिएको संघर्षका क्रममा उहाँले करीब ३ वर्ष जेल जीवन समेत बिताउनु भएको थियो । २०६२÷६३ को भृकुटीमण्डप केन्द्रीत आन्दोलनमा सहभागी हुँदा सुरक्षाकर्मीको प्रहारबाट उहाँको बायाँ खुट्टामा गम्भीर चोट लागेको र उक्त खुट्टामा रड समेत राख्नु परेको थियो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ललनकुमार रायको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । उहाँले भन्नु भएको छ — नेपाली कांग्रेसका महासमिति सदस्य ललनकुमार रायको दुर्घटनामा परी निधन भएको घटनाप्रति म गहिरो दुःख व्यक्त गर्दछु । स्वर्गीय रायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको निधनबाट पार्टीले एक कुशल संगठनकर्तालाई गुमाएको र अपूरणीय क्षति पुगेको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सबै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु । साथै, घाइते सबै जनाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”

नेपाली कांग्रेस उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । 



कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files