Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
May 22, 2020
नेपाली कांग्रेस रुपन्देहीका अग्रज नेता एवं पूर्व राज्यमन्त्री ७० वर्षीय दूर्योधन सिंह थारु चौधरीको वुटवल स्थित गौतम वुद्ध सामुदायिक मुट अस्पतालमा उपचारका क्रममा निधन

जेठ ९, २०७७
 
शोक विज्ञप्ति
 
नेपाली कांग्रेस रुपन्देहीका अग्रज नेता एवं पूर्व राज्यमन्त्री ७० वर्षीय दूर्योधन सिंह थारु चौधरीको आज वुटवल स्थित गौतम वुद्ध सामुदायिक मुट अस्पतालमा उपचारका क्रममा निधन भयो । स्वर्गीय चौधरी २०४८, २०५१ र २०५६ को आमनिर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको थियो । यसैक्रममा स्वर्गीय चौधरी स्थानीय विकास राज्य मन्त्री, आपूर्ति सहायक मन्त्री र महिला तथा सामाजकल्याण सहायक मन्त्री समेत हुनु भएको थियो । 
 
स्वर्गीय चौधरीले वि.सं. २०२८ सालमा भारतको वनारसबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गर्नु भएको थियो । पार्टीको विभिन्न पदमा रहेर स्वर्गीय चौधरीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको दुई श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । 
 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ— “नेपाली कांग्रेस रुपन्देहीका अग्रज नेता एवं पूर्व राज्यमन्त्री दूर्योधन सिंह थारु चौधरीको निधनको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ । स्वर्गीय चौधरीले नेपाली कांग्रेसको संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ र अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना व्यक्त गर्दछु ।”
 
 
 
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files