Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Jun 20, 2013
बाढी पहिरोबाट भएको जनधनको क्षतिका सम्बन्धमा नेपाली कांग्रेसद्वारा पत्रकार सम्मेलनको आयोजना


असार ६, २०७०
प्रेस विज्ञप्ति

यही २०७० आषाढ १ र २ गतेदेखि परेको अविरल वर्षाबाट महाकाली नदीमा आएको विषण बाढी र पहिरोका कारण अकल्पनीय रुपमा मुख्यतः दार्चुला लगायत सुदूरपश्चिमका महाकाली किनारका बैतडी, डडेल्धुरा, कञ्चनपुरको क्षेत्रमा भएको व्यापक क्षति र अन्य जिल्लाहरुमा अछाम, डोटी, कैलाली, कालिकोट, दैलेख, डोल्पा, रुपन्देही लगायतका जिल्लाहरुमा समेत भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस गहिरो दुःख र सहानुभूति प्रकट गर्दछ तथा आकस्मिक विपतको यस दुःखद घडीमा सम्पूर्ण प्रभावित जनहरुसित पार्टी आफ्नो साथ र ऐक्यवद्धता जनाउन चाहन्छ । मृत्युवरण गर्नेहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनहरुप्रति साहस र धैर्य पूर्वक विपतिको सामना गर्न नेपाली कांग्रेस आग्रह गर्दछ । हालसम्म प्राप्त जानकारी अनुसार दार्चुलामा ३ जनाको मृत्यु, १६४ घर बगाएको, १०० घर जोखिममा रहेका, १३ सरकारी कार्यालय, ४ वटा मन्दीर, कालागार लघु जलविद्युत आयोजनाको पावर हाउस एवं महाकाली नदीको भारत नेपाल जोड्ने जौलजिवी पुल बगाउनुका साथै करीब ७०० जना घरविहिन हुन पुगेका र ३००० जति विस्तापित हुन पुगेका छन् । त्यस्तै डोटीमा २ जना, बैतडीमा ५ जना, अछाममा २ जना, दैलेखमा ७ जना, कालिकोटमा १२ जना, डोल्पामा १ जना, रुपन्देहीमा १ जनाको मृत्यु भएको छ । कञ्चनपुरमा २ जनाको मृत्युको साथै सुडा, दैजी, भुजेला, बाइसे विचवा, रकवार विचवा, कालिका, परासोन, त्रिभुवनवस्ती, श्रीपुर, बेल्डाडी लगायत भीमदत्त नगरपालिकाको वडा नं. १, ३, ७, ८, ९, १०, ११, १२, १३, १४ लगायत वडा नं. ३ को तिलकपुर विष्णुमन्दीरमा पर्ने पक्की पुल क्षतिग्रस्त हुनका साथै सोही वडाको राधाकृष्ण टोलमा खनियाखोलाले ३५ घर टहराहरु बगाएको छ । डडेल्धुराको जोगवुढा, आलिताल, साननी, सिमा क्षेत्र खल्लामसेटीसम्म कटान भएकोछ । यस बाढी, पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यमा अहोरात्र संलग्न नेपाली सेना, नेपाल प्रहरी लगायत विभिन्न संघ संस्था र पार्टी कार्यकर्ताहरु एवं भ्रातृ संस्थाका सदस्यहरुलाई पार्टी धन्यवाद दिन चाहन्छ र क्षतिको विवरण संकलन, राहत वितरण एवं समग्र उद्धार कार्यमा आफ्नो स्थानीय तहमा थप सक्रियतापूर्वक खट्नका लागि पनि सम्पूर्ण नेता एवं कार्यकर्ताहरुमा पार्टी पुनः आग्रह गर्दछ ।

दार्चुला लगायत महाकाली किनारका बाढी, पहिरो प्रभावित क्षेत्रमा निम्नानुसार प्राथमिकीकरण गरी तत्कालीन र दीर्घकालिन राहत, उद्धार र सुरक्षा व्यवस्थामा तत्काल युद्ध स्तरमा सक्रिय हुन नेपाल सरकारको गम्भीर ध्यानाकर्षणका साथ आग्रह गर्दछ ।

१.  तत्काल गर्नु पर्ने राहत, उद्धारका कार्यहरु
(क) क्षतिको यथार्थ विवरण संकलन गरी घरविहिन भएकाहरुलाई तत्काल खाद्यान्न, टेन्ट र लत्ता कपडा एवं औषधोपचारको व्यवस्था गर्नु पर्ने ।

 

(ख) वर्षायामको प्रारम्भिक समय मात्र भएकोले निकट भविष्यमा नै हुन सक्ने सम्भावित कटान र थप जनधनको क्षति रोक्नका लागि मुख्य मुख्य नाकाहरुमा तत्काल तारजालीको तटवन्ध तयार गर्नका लागि सम्बन्धित क्षेत्रमा प्राविधिक टोलीका साथै थप नेपाली सेना र प्रहरी लगायत स्थानीय जनपरिचालन गर्नु पर्ने ।
(ग) बैतडी—दार्चुला सडकको क्षतिग्रस्त क्षेत्रमा तत्काल युद्ध स्तरमा मर्मत कार्य शुरु गरी सडक संचालन सुचारु गर्दै खाद्यान्न, औषधी लगायत आपूर्ति सहज गर्नु पर्ने ।
(घ) थप औषधी आपूर्ति र स्वास्थ्यकर्मीहरु सक्रिय गराउनु पर्ने ।
(ङ) दार्चुलामा बाढीले बगाएर लगेको महाकाली नदीको जौलजिवी पुल लगायत अन्य जिल्लाहरुका पुलहरु तत्काल निर्माण गरी नून, तेल खाद्यान्न आपूर्ति सहज गर्नु
पर्ने ।

२. दीर्घकालिन योजना (पुनस्र्थापना र पुनर्निर्माण)
(क) घरविहिन हुन पुगेकाहरुलाई स्थानीय क्षेत्रमा वा तराईमा उपयुक्त र सुरक्षित स्थानमा पुनस्र्थापित गर्नु पर्ने ।
(ख) सदरमुकाम क्षेत्रमा घर पसलहरु बगाई विस्थापित हुन पुगेका व्यापारी वर्गहरुलाई राहत र क्षतिपूर्तिका लागि बैंक ऋणको व्याज मिनाहा एवं सहुलियतको प्रबन्ध गर्नु पर्ने । साथै, सर्वसाधारण जनताको क्षति यकिन गरी न्यायोचित क्षतिपूर्तिको व्यवस्था गर्नु पर्ने ।
(ग) महाकाली सीमा नदीमा भारत र नेपाल दुबै तर्फको वर्षेनी बाढी र पहिरोबाट हुने क्षतिबाट बच्न तथा यस सीमा क्षेत्रमा निर्माणाधीन र प्रस्तावित विद्युत योजनाहरुबाट समेत उत्पन्न हुन सक्ने भूमी कटान र क्षति हुनबाट समेत सुरक्षा प्रबन्ध गर्नका लागि पक्की तटवन्ध निर्माणको वृहत कार्यक्रम नेपाल र भारत दुवै सरकारहरुको कुटनीतिक र आर्थिक क्षेत्रमा आपसी सहमति, सहयोग र सहकार्यबाट एकसाथ पुनर्निर्माण कार्य उच्च प्राथमिकताका साथ शुरु गरिहाल्नु पर्ने ।
(घ) राहत, उद्धार, पुनस्र्थापन एवं पुनर्निर्माण कार्यमा आवश्यकतानुसार अन्तर्राष्ट्रिय दातृ संघ संस्था एवं सरकारहरुको समेत सहयोग जुटाउने प्रबन्ध गर्नु पर्ने ।

उपरोक्त तत्कालीन र दीर्घकालीन राहत, उद्धार एवं क्षतिपूर्ति र सुरक्षाका साथै पुनस्र्थापन र पुनर्निर्माण कार्यमा गम्भीरतापूर्वक तत्काल युद्ध स्तरमा क्रियाशील हुन नेपाली कांग्रेस नेपाल सरकारसित जोडदार माग गर्दछ ।

दिलेन्द्रप्रसाद बडू
प्रवक्ता
 

Share on Facebook

Attachments#
No files