Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Nov 25, 2013
जिउँदो शहीद अरविन्द ठाकुरको निधन

 मंसिर १०, २०७०
प्रेस विज्ञप्ति
 
जिउँदो शहीद एवं राष्ट्रिय सभाका पूर्व सांसद अरविन्द ठाकुरको आज विहान ६ बजे ललितपुर स्थित बी.एण्ड बी. अस्पतालमा उपचारका क्रममा निधन भयो । उहाँको श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । लामो समयदेखि उहाँ ढाँडको समस्याबाट पीडित हुनुहुन्थ्यो । 
नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा सक्रिय स्वर्गीय ठाकुर वि.सं. २०१७ साल पुष १ गते राजा महेन्द्रले प्रजातन्त्र अपदस्थ गरेपछि पञ्चायती व्यवस्थाका विरुद्ध संघर्षरत रहनु भयो । २०१८ साल माघ ९ गते तत्कालीन राजा महेन्द्रको जनकपुर भ्रमणका समयमा राजाको भ्रमणको विरोध गर्दै प्रदर्शनमा रहेका स्वर्गीय ठाकुर जनकपुर बमकाण्डको घटनाको कसुरदारीको आरोपमा जनकपुर एयरपोर्टमै पक्राउ पर्नु भएको थियो । तत्कालीन पञ्चायती व्यवस्थाले राजकाज मुद्दा अन्तर्गत फाँसीको सजाय सुनाएता पनि पछि आजीवन कारावासको सजाय दिने निर्णय गरेको थियो । चरम शारीरिक यातना दिई जेलमा राखिएका अरविन्द ठाकुर २०३४ मा रिहा हुनु भएको थियो । स्वर्गीय ठाकुर २०५६ मा नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभाको सदस्य हुनुहुन्थ्यो । गत २०७० भाद्र २४ गते ९९ औँ बी.पी. जन्म जयन्तीको अवसर पारेर बी.पी. संग्रालयले उहाँलाई ‘बी.पी. राजनीतिक पुरस्कार’ प्रदान गरेको थियो । एक लाख राशीको उक्त पुरस्कार पाई सम्मानित हुने उहाँ पहिलो राजनीतिकर्मी हुनुहुन्थ्यो । 
उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालयमा आज विहान १०ः३० बजेदेखि अपरान्ह २ बजेसम्म राखिएको थियो । पशुपति आर्यघाटमा आजै अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ । स्वर्गीय ठाकुरप्रति सम्मान प्रकट गर्दै आज र भोलि पार्टीको केन्द्रीय कार्यालय र देशभरिका पार्टी कार्यालयहरुमा झण्डा आधा झुकाउने र उहाँको गृह जिल्ला नेपाली कांग्रेस धनुषाले उहाँको निधनप्रति शोक प्रकट गर्दै कार्यक्रम आयोजना गर्ने पार्टीले निर्णय गरेको छ । 
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टीको झण्डा ओढाएर स्वर्गीय अरविन्द ठाकुरप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । त्यसैगरी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाश मान सिंह लगायतका केन्द्रीय नेताहरु एवं पार्टीका कार्यकर्ताहरुले स्वर्गीय ठाकुरको पार्थिव शरीरमा पुष्प गुच्छा अर्पण गरी अन्तिम श्रद्धाञ्जली प्रकट गर्नु भएको थियो । 
उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गर्दछ । 
 
चिनकाजी श्रेष्ठ
मुख्य सचिव
 
Share on Facebook

Attachments#
No files