Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Oct 08, 2018
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ असोज २१ गतेको बैठकको निर्णयहरु

 (बैठक राति ११ः०० बजेसम्म चलेको हुँदा आज असोज २२ गते प्रकाशित गरिएको)
असोज २१, २०७५

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री शेरबहादुर देउवाको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्यो । समसामयिक सन्दर्भमा निम्नानुसार प्रस्ताव पारित गरेको छ । 

१. नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक नजिक रहेका दशैं, दिपावली, नेपाल सम्वत्, छठ लगायत पर्वको सु–अवसरमा आम नेपाली दिदीबहिनी–दाजुभाईमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछ । 
२. पर्वहरुका बेलामा आम नागरिकको मुख्य चासो एकातर्फ शान्ति सुरक्षाको खोजी हुन्छ भने अर्कातर्फ सुपथ मूल्यमा उपभोग्य वस्तु प्राप्तिको अपेक्षा हुन्छ । तर यी दुबै सन्दर्भमा वर्तमान सरकार असफल प्रमाणित भएको छ ।
(क) कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई अढाई महिना पुगी सक्दा पनि कार्वाहीको दायरामा नल्याउनु दुःखद त छ नै, यसले वर्तमान सरकार विषयको गम्भीरताका प्रति असंवेदनशील र असक्षम प्रमाणित भएको छ । यस्तै प्रकृतिका घटनाको मुलुकव्यापी रुपमा बाढी आउनु झनै चिन्ताको विषय बन्न पुगेको छ । शान्ति सुरक्षा कायम गर्न नसक्ने सरकारको अर्कमण्यताले अपराधको साम्राज्य विस्तार हुँदैछ । यसको भत्र्सना गर्दै नेपाली कांग्रेस सरकारलाई आफ्नो जिम्मेवारीप्रति गम्भीर बन्न सचेत गराउँदछ । 
(ख) चाडपर्वको मुखमा उपभोग्य वस्तुहरुको मूल्यमा अचाक्ली वृद्धि हुँदा सर्वहाराका नाममा सत्तामा पुगेको नेतृत्वले त्यसमा हस्तक्षेप गर्नु त परै जाओस्, सरकारकै रवैयाका कारण चिनी लगायतका वस्तु तथा दशैको बेलामा गाडी भाडामा मूल्यवृद्धि हुन पुगेको छ । उसैपनि चर्को करहरुका कारण पीडा झेलिरहेका नागरिकलाई झन पिडा थपिएको स्थितिप्रति गम्भीर हुँदै नेपाली कांग्रेसले त्यसका विरुद्ध सबै जिल्ला प्रशासन मार्फत तत्कालै ज्ञापन पत्र बुझाउने र केन्द्रमा पनि सरकारलाई सचेत गराउने निर्णय लिएको छ । 
३. वाइड वडी जहाज खरीद प्रकरण अपारदर्शी रहेको र ठूलो आर्थिक अनियमितता भएको विवरणहरु सार्वजनिक भइरहेका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक यो घोटाला बारेको वास्तविकता गहिराईपूर्वक छानविन गरी जनसमक्ष सार्वजनिक गर्न सम्बन्धित निकाय समक्ष तीव्र गतिका लागि आग्रह गर्दछ । 
४. (क) बुढी गण्डकी जलविद्युत परियोजना स्वदेशी लगानीमै निर्माण गर्न सकिने ठहर नेपाली कांग्रेसको नेतृत्वको सरकारका पालामा गठित अध्ययन समितिले गरेको थियो । त्यसका लागि नेपाली जनताको लगानी सहभागिताको प्रकृया समेत आरम्भ भई अरबौं रुपैयाँ संकलन भइसकेका बेला हठात् गेजुवा कम्पनीलाई सुम्पने निर्णय आउनुलाई नेपाली कांग्रेसले अपारदर्शी, आश्चर्यजनक र आपत्तिजनक रुपमा लिएको छ । 
(ख) कुनै पनि परियोजना निर्माण कसैलाई पनि जिम्मा लगाउन त्यस सम्बन्धी स्थापित विधि एवं प्रकृया हुन्छन् र छन् । तर कुनै प्रकृया नअपनाई विना प्रतिस्पर्धा एकाएक नयाँ निर्णयमा गलत मनसाय साथ पुगी हामी आफैले बनाउन सक्ने परियोजना अरुलाई सुम्पिनु सरकारको राष्ट्रहित विपरीतको कदम हो भन्ने हाम्रो ठहर छ । 


(ग) नेपाली कांग्रेसको यो बैठक बुढी गण्डकी परियोजनाका बारेमा सरकारले लिएको अपरिपक्व निर्णयले यसको सुनिश्चित हुँदै गएको भविष्यलाई अनिश्चित बनाउने षडयन्त्रप्रति आम जनसमुदायमा सुसूचित गर्दै सजग रहन अपील गर्दछ । 
(घ) स्वदेशी पूँजीमै निर्माण गर्न सक्ने गरी अध्ययन समितिले दिएको विगतको प्रतिवेदनका आधारमा नै परियोजना अघि बढाइनु पर्छ भन्ने नेपाली कांग्रेसको माग रहेको छ । 
५. (क) निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने एक दशक पुरानो हाम्रो संकल्पको राष्ट्रिय गौरवको सपना सफल कार्यान्वयन गर्न जरुरी छ । त्यसका लागि आवश्यक पर्ने जग्गा प्रबन्ध गर्ने प्रक्रिया अघि बढाउन सरकारले ढिलाई गर्नु हुन्न् । 
(ख) तर विमान स्थलका लागि आवश्यक पर्ने जग्गा भन्दा बढी जग्गाका रुख काट्ने प्रस्तावप्रति नेपाली कांग्रेसको गम्भीर विमति छ । आवश्यक पर्ने जग्गा, उत्पन्न विवाद प्रकरण, लगानी सुनिश्चितता तथा निर्माणको मोडालिटीका बारेमा राष्ट्रिय रुपमा गम्भीर छलफल गरेर निर्णयमा पुग्न, यसलाई विवादित बनाउनबाट रोक्न र समयमा नै निर्माण सम्पन्न गर्ने गरी गति बढाउन नेपाली कांग्रेस सरकारलाई अपील गर्दछ । 
६. सुदूर पश्चिम प्रदेश सभाले भौतिक पूर्वाधार नै नभएको वातावरणीय दृष्टिकोणले नमिल्दो स्थान कैलाली जिल्लाको गोदावरी नगरपालिकाको वडा नं. २ र ४ मा राख्ने गरी गरिएको निर्णय अपरिपक्व, विकास विरोधी, गैर जिम्मेवार र भू तथा वन माफियाहरुको चलखेलबाट प्रभावित छ । यस निर्णयले उक्त स्थानमा भौतिक पूर्वाधारको निर्माण गर्न अरबौं लगानी हुन गई विकास निर्माणका सम्पूर्ण कार्य ठप्प हुने अवस्थामा छ । वातावरणीय दृष्टिकोणले वन क्षेत्र नास हुने तथा वन्यजन्तुको आवागमन अवरुद्ध भई पर्यावरणीय समस्या सिर्जना हुने विशेषज्ञहरुको राय छ । चुरेको फेदीमा अवस्थित उक्त क्षेत्रमा सहर निर्माण गर्ने, भौतिक पूर्वाधार खडा गर्ने कार्यले प्राकृतिक प्रकोप बढ्न जाने र तल्लो तटीय क्षेत्रमा बाढी, भू–क्षय लगायत मरुभूमिकरणको समस्या बढ्ने जोखिम छ । तसर्थ, उक्त राजधानी गोदावरी न.पा. २ र ४ मा बनाउने गरी गरिएको निर्णयमा पुनर्विचार गर्नु पर्दछ । 

बैठकबाट पारित सांगठनिक प्रस्ताव ः 
१. नेपाल विद्यार्थी संघको सदस्य बन्ने उमेरको हद बारे नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनबाट पारित विद्यमान व्यवस्थाको ३२ वर्षे प्रावधानलाई यथावत राख्ने निर्णय बैठकले गरेको छ । नेविसंघको विधानमा रहेको अन्य व्यवस्थाका सन्दर्भमा आगामी असोज २५ गते विहान ११ः०० बजे बस्ने बैठकले निर्णय गर्नेछ । 

आजको बैठकमा आफ्नो विचार राख्नु हुनेमा— नेता रामचन्द्र पौडेल, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, फरमूल्लाह मंसुर, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्वे, नविन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, महेन्द्र यादव, सुरेन्द्रराज पाण्डे, मीन विश्वकर्मा, जीवन परियार, पार्वता डी.सी. चौधरी, श्यामकुमार घिमिरे, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, अमृत अर्याल, विशेष आमन्त्रित सदस्य विजयकुमार गच्छदार र आमन्त्रित केन्द्रीय सदस्य रमा कोइराला हुनुहुन्थ्यो । 


विश्वप्रकाश शर्मा
प्रवक्ता
 
Share on Facebook

Attachments#
No files