Flag of Democratic Republic of Nepal
YOU ARE HERE :   
Quick Links
CA Election 2070
Press Release
Dec 02, 2018
केन्द्रीय कार्यसमितिको २०७५ मंसिर १६ गते बसेको बैठकको निर्णयहरु

 मंसिर १६, २०७५


प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो । मंसिर ९ गतेदेखि विधान संशोधन मस्यौदामा केन्द्रित रहेको आजको बैठकमा केन्द्रीय सदस्यहरू— रमेश रिजाल, फरमूल्लाह मन्सुर, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्वे, सुरेन्द्रराज पाण्डे, पार्वता डी.सी. चौधरी, श्यामकुमार घिमिरे, हरिप्रसाद नेपाल, शिवप्रसाद हुमागाँई र आमन्त्रित केन्द्रीय सदस्य किरणराज शर्माले आफ्नो धारणा राख्नु भएको थियो । 

बैठकको निर्णय देहाय बमोजिम रहेको छ—

(१) योगदानमा आधारित सामाजिक सुरक्षा कोषका सम्बन्धमा ः 
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४, कार्यान्वयन प्रकृया अघि बढिरहँदा नेपाली कांग्रेस आफ्नो नेतृत्वको सरकारका पालामा संसदबाट ऐन पारित गर्न निर्वाह गरेको भूमिकाप्रति गर्व गर्दै यसको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्दछ । सभापति श्री शेरबहादुर देउवाको नेतृत्वको सरकारका पालामा ०७४ साउन ९ गते संसदमा प्रस्तुत भई संसदले पारित गरेर साउन २९ मा सम्माननीय राष्ट्रपतिबाट प्रमाणित ऐनको सफल कार्यान्वयनबाट समस्त नेपाली श्रमिकको जीवनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास नेपाली कांग्रेसले लिएको छ । 
तर हालै मंसिर ११ गते सरकारका तर्फबाट आफ्नै नयाँ कार्यक्रमझै गरेर भ्रम छर्ने गरी प्रधानमन्त्री एवं नेकपा अध्यक्ष के.पी. शर्मा ओलीको तस्वीर शहरमा सजाएर आफ्नो पार्टीगत प्रचार गर्ने शैलीमा प्रस्तुत गरिएको विषयप्रति नेपाली कांग्रेसको ध्यानाकृष्ट भएको छ । 
यसको सफलता भड्किलो शैलिको झुठो प्रचारले होइन परिपक्व र जिम्मेवार ढंगको व्यवस्थापकिय कुशलताबाट सम्भव हुने व्यवहारिक यथार्थप्रति नेपाली कांग्रेस नेपाल सरकारलाई सचेत गराउन चाहन्छ । 
सरकार, रोजगारदाता र श्रमिक तीनवटै पक्षको उत्साहवर्धक भूमिकाबाट मात्र यसको सफल कार्यान्वयन हुने भरोसा प्रकट गर्दे प्रमुख प्रतिपक्षीका रुपमा यसको सफलताका लागि नेपाली कांग्रेसको खबरदारी एवं आवश्यक साथ दुवै रहने निर्णय गर्दछ ।

(२) काठमाडौँमा जारी एक विवादास्पद सम्मेलनमा सरकारको भूमिका बारे ः
खास धार्मिक आस्थामा अधारित अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको आयोजनामा काठमाडौंमा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकार समेत आयोजकको भूमिकामा संलग्न हुनु र राज्यको व्यापक बजेट र साधानको प्रयोग हुनु संविधानको मर्म र भावना समेतको विपरीत रहेको हाम्रो ठहर छ । नेपाली कांग्रेस केन्द्रीय समिति सरकारको यस्तो संलग्नता र राज्यको साधान र स्रोतको दुरुपयोगको घोर भत्र्सना गर्दछ । 


(३) नेपाल शिक्षक महासंघको आन्दोलनमा सहभागी भई जिल्ला फर्कने क्रममा शिक्षकहरु सवार गाडी दाङको चमेलियामा भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सबै घाइते शिक्षकहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । 

(४) सुदूरपश्चिम प्रदेश सभा सदस्य मा. उमादेवी वादी बीबीसीको विश्वभरका सय जना प्रभावशाली र सामाजिक सेवामा सक्रिय सूचीको १० औँ नम्बर पर्नु भएकोमा कार्यसमितिको यो बैठक हार्दिक बधाइ दिंदै उहाँको राजनीतिक र सामाजिक जीवनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछ । 

शोक प्रस्ताव ः 
बारा जिल्ला गाउँपालिका बारागढी वडा नं. १ बाट निर्वाचित वडाध्यक्ष तथा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि नन्दलाल राय थारुको गत मंसिर १४ गते भएको निधनप्रति कार्यसमितिको बैठक गहिरो दुःख व्यक्त गर्दछ । स्वर्गीय थारुले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति यो बैठक हार्दिक समवेदना प्रकट गर्दछ । 
केन्द्रीय कार्यसमितिको बैठक २०७५ मंसिर १७ गते सोमबार विहान ११ः०० बजे पुनः बस्नेछ । 




कृष्णप्रसाद पौडेल
मुख्य सचिव




 
Share on Facebook

Attachments#
No files