नेपाली कांग्रेसका योगदान एवं उपलब्धिहरु

राजनीतिक योगदान
-
नेपाली कांग्रेसले २००३ सालदेखि जनताको शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै जहानियाँ राणा शासनका विरुद्ध २००७ सालमा जनक्रान्ति मार्फत् जनताको मतबाट मात्र शासन गर्न पाउने पद्धतिको स्थापना गरेको हो।
-
२०१७ सालमा राजाबाट कपटपूर्ण ढंगले लोकतन्त्र र जनअधिकार अपहरण गरिएपछि ३० वर्षसम्म अथक संघर्ष गर्दै नेपाली कांग्रेसको आह्वान र नेतृत्वमा २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल भएको हो ।
-
२०४६ को जनआन्दोलन पश्चात एक वर्षको छोटो समयमा नै नेपाली कांग्रेसको नेतृत्वमा नयाँ संविधान निर्माण गरी आमनिर्वाचन सम्पन्न गरेर आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै लोकतन्त्रलाई सुदृढ तुल्याएको हो । त्यसको एक वर्षपछि पुनः स्थानीय निर्वाचन सम्पन्न गरी प्रजातान्त्रिक अभ्यासलाई तल्लो तहसम्म पुऱ्याउन नेतृत्वदायी भूमिका निभायो ।
-
२०६२ मङ्सिर ७ गते सात राजनीतिक दल र माओवादी बीच भएको १२ बुँदे समझदारीको जगमा एकातर्फ एक दशक लामो हिंसात्मक द्वन्द्वको अन्त्य भयो भने अर्कोतर्फ निरंकुश राजतन्त्रको अन्त्य भयो ।
-
यसरी मूलतः माओवादी हिंसात्मक राजनीतिको अन्त्य गर्दै शान्तिपूर्ण रुपान्तरण गर्ने, निरंकुश राजतन्त्रको अन्त्य गर्दै संविधानसभा मार्फत् लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने, नेपालको विविधता राज्य संयन्त्र र शक्तिमा प्रतिबिम्बित हुने गरी राज्यको पुनर्संरचना गर्ने कार्यदिशा नेपाली कांग्रेसले अनुसरण गऱ्यो ।
-
त्यही कार्यदिशाले नै २०६२–६३ को जनआन्दोलन मार्फत् शान्तिपूर्ण मार्गबाट आजको राजनीतिक निकास संभव भएको वास्तविकतालाई नेपाली कांग्रेस पुनः स्मरण गर्दछ ।
-
२०६४ सालमा संविधानसभाको निर्वाचन गर्न थुप्रै बाधा अवरोध उत्पन्न भए । तर यो अवधिमा मधेशलगायत आदिवासी–जनजातिको पहिचानको आन्दोलन, महिला, दलित, थारु, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यक समुदाय एवं कर्णाली र दुर्गम क्षेत्रका जनताको उचित प्रतिनिधित्व र अधिकारका आन्दोलनलाई संवाद मार्फत् शान्तिपूर्ण रुपमा समाधान गरी नेपाली कांग्रेसकै नेतृत्वमा पहिलोपटक संविधानसभाको ऐतिहासिक निर्वाचन सम्पन्न भएको हो ।
-
२०७० को दोस्रो संविधानसभाबाट नेपाली कांग्रेसले लोकतान्त्रिक संविधान जारी गर्ने अभियानको नेतृत्व गऱ्यो । नेपाली कांग्रेसको दृढ सङ्कल्प तथा सहमति, सहकार्य, एकता र मेलमिलापको राजनीतिक संस्कारका कारण नेपाली कांग्रेसकै नेतृत्वमा १ वर्ष १० महिनाभित्र ऐतिहासिक संविधानसभाबाट संविधान जारी गरी तीनवटै तहको निर्वाचन सम्पन्न गरेपछि संघीय प्रणाली कार्यान्वयनको चरण प्रारम्भ भएको हो ।
-
संविधान जारीपछि पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा वि.स. २०७४ मा स्थानीय, प्रदेश र संघीय तहका निर्वाचन सम्पन्न गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्न योगदान गर्यो।
-
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दुई-दुई पटक गरिएको प्रतिनिधि सभा विघटनको कदमविरुद्ध नेपाली कांग्रेसले राजनीतिक र संवैधानिक लडाइँमा सक्रिय भूमिका खेल्दै संसद पुनर्स्थापना र संविधानको संरक्षणमा योगदान गर्यो।
-
नवयुवा पुस्ताको आह्वानमा भएको विद्रोह पछि उत्पन्न राजनीतिक परिस्थितिमा राष्ट्रपतिद्वारा आह्वान गरिएको प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने निर्णय गर्दै नेपाली राजनीतिलाई पुन: लोकतान्त्रिक बाटोतर्फ अग्रसर गराउन जिम्मेबार भूमिका खेलेको छ।