पार्टी सिद्धान्त

Nepali Congress Flag

राष्ट्रियता

नेपाली कांग्रेसले स्थापनाकालदेखि नै अवलम्बन गर्दै आएको मूल आदर्श राष्ट्रियता, मूल सिद्धान्त लोकतन्त्र र समाजवादका सन्दर्भमा स्पष्ट गर्नु आवश्यक भएको छ ।  वी.पी. कोइरालाले राष्ट्रियताको मूलत जनता भएको विचार प्रस्तुत गर्नुभएको छ । अहिले जनताको स्वतन्त्र सार्वभौम सर्वोच्चता नेपालमा स्थापित भएको अवस्था छ । हिमाल, पहाड, तराई–मधेस विभिन्न भूगोलमा रहेका, विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति तथा आर्थिक रूपले विपन्न र सामाजिक रूपले विभेदमा पारिएका शोषित, पीडित समुदायले समेत एकआपसमा सद्भावका साथ राष्ट्र, राज्य र राजनीतिक प्रणालीमाथि स्वामित्व अनुभव गर्ने हृदयको गहिराइबाट उत्पन्न भावना नै राष्ट्रियता हो ।

आफू जन्मेको थातथलो, वरण गर्ने संस्कृति र परिचयको सामूहिक आधार नै राष्ट्रियता हो । राष्ट्रियता कुनै राजनीतिक प्रणाली वा भौगोलिक सीमाभित्र मात्र आबद्ध छ भन्ने होइन । जहाँ जुन रूपमा रहे पनि जसले आफ्नो पुर्खाहरूको भूमि र आफ्नो जन्मभूमिसहित आफ्नो सांस्कृतिक परिचय वरण गर्दछ र देशभक्तिको भावना राख्दछ राष्ट्रियता त्यही रहन्छ भन्ने नेपाली कांग्रेसको दृष्टिकोण रहेको छ । संवैधानिक रूपमा सङ्घ, प्रदेश र सबल स्थानीय तहको संरचना गरी जनताको सामूहिक भावनामा आधारित राष्ट्रियतालाई मजबूत बनाउने महत्त्वपूर्ण निर्णय गर्नमा नेपाली कांग्रेसले गरेको नेतृत्वदायी योगदानलाई कसैले पनि बिर्सन सक्तैन ।