लोड हुँदैछ...
१ बैशाख ०८३
--`जरा´ अभियानको ७ उदेश्य--
उत्साह र विश्वासको नविन अभियान
नेपाली कांग्रेसको `जरा अभियान´ सभापति गगनकुमार थापाले आफ्नो वडा काठमाडौ महानगरपालिका ३० बाट आफ्नो कृयाशिल सदस्यता अद्यावधिक गर्नु भए सँगै आज १ बैशाख ०८३ मा प्रारम्भ भएको छ ।
बैशाखभर चल्ने अभियान क्रममा एकातर्फ राष्ट्रिय सन्दर्भमा पार्टीको सोच र सन्देश प्रवाह हुनेछ भने, अर्कातर्फ स्थानीय तहसम्म पार्टी जागरण र रुपान्तरण क्रममा क्रियाशिल सदस्यता अधावधिक गर्ने कार्य हुनेछ । `रुख´को `जरा´ गोडमेल गर्न र पार्टीमा ताजगी अभिवृद्धि गर्न यो अभियानले मद्दत पुर्याउने विश्वास लिइएको छ ।
फागुन २१ को निर्वाचन पश्चात् मुलुकको प्रमुख प्रतिपक्षी दलको जिम्मेवार भुमिकामा छ नेपाली कांग्रेस । `जरा´ अभियान मार्फत पार्टीको भुमिका सबल बनाउँदै देश, प्रणाली र समाज सबल बनाउने ध्येयमा समर्पित छ नेपाली कांग्रेस ।
जरा अभियानको उदेश्य
१) राष्ट्रियताको `जरा´ सबल बनाउन
• संसदमा रहेका दलहरू बीच राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ र समग्रमा राष्ट्रियताको प्रश्नमा साझा दृष्टि र
सहकार्य ।
• देश बाहिर रहेका नेपालीहरुको सुरक्षा र अधिकारका सन्दर्भमा पार्टीको प्रतिज्ञा पत्र बमोजिम देशभित्रको भावनात्मक जरा बलियो बनाउन आवश्यक नितिगत, कानुनी र संरचनागत बिषयमा पहल, संवाद र सहकार्य ।
२) लोकतन्त्रको `जरा´ सबल बनाउन
• संसदमा नेपाली कांग्रेसको सहयोगी एवं खबरदारीपुर्ण भुमिका ।
• संविधान संशोधनको प्रश्नमा लोकतन्त्रको सारभुत मुल्य मान्यतामा सम्झौता नगरी समयोचित दृष्टि, इमानदार अवधारणाको खोजी एवं परिणाममुखी सहकार्य ।
३) संघियताको `जरा´ सबल बनाउन
• संविधानको मर्म बमोजिम संघीयताको सबलिकरण गर्न आवश्यक कानुन निर्माणमा सहकार्य ।
• नेपाली कांग्रेस सहभागी रहेका प्रदेश सरकारहरुको गतिविधि समिक्षा, आवश्यक हेरफेर र समयानुकूल परिमार्जन गर्दै प्रदेश सरकार प्रभावकारी बनाउन यो अवधिमा उपयुक्त रणनीति अवलम्बन गर्ने ।
• स्थानीय सरकार संचालन प्रभावकारी बनाउन यहि अभियान क्रममा सकारात्मक सन्देश प्रवाह गर्ने ।
४) नागरिक विश्वासको `जरा´ सबल बनाउन
• समुन्नतिको प्रश्नमा दलगत आग्रह भन्दा पर समन्यायिक विकास दृष्टि ।
• प्रदेश र स्थानीय तहमा रहेका पार्टीका साथीहरूको प्रभावकारिता वृद्धि ।
• नवयुवाहरुसँग अनेक तहमा संवाद , तिनको सोच र सपना अनुरुप रुपान्तरण र गति ।
• राज्य, दलहरु र निजि क्षेत्रबीच वृहत्तर सहकार्यको खोजीका साथ निजिक्षेत्रको मनोबल अभिवृद्धि र थप दायरा विस्तारमा प्रोत्साहन ।
५) सामाजिक एकताको `जरा´ सबल बनाउन
• जातिय, बर्गिय, धार्मिक, सामाजिक र साँस्कृतिक समुहहरुबिच सद्भाव अभिवृद्धिमा भुमिका ।
• जातीय विभेद र सबै खाले विसंगति नियन्त्रणमा सहकार्य ।
६) पार्टीको `जरा´ सबल बनाउन
• विमतिका बिषयहरु न्यूनीकरण गर्दै पार्टीभित्र खुला संवाद र सहकार्य ।
• विभिन्न समयमा विविध कारणले पार्टीबाट टाढा भएका साथीहरूलाई `घर-आँगन फर्क´ आह्वान ।
• केन्द्रबाट प्रदेशहुँदै स्थानीय तहसम्मका समितीहरुबिच बिषयगत तादाम्यता र सांगठनिक कार्यमा गति वृद्धि ।
• भ्रातृ र शुभेच्छुक संस्थाहरूको कार्य समिक्षा, आवश्यक निर्णय र `जरा´ तहसम्म सम्बन्धित संस्थाहरूको प्रभावकारिता खोजी ।
७) आगामी महाधिवेशनको तयारी
• बिशेष महाधिवेशनले पारित गरेका दृष्टि, निर्माण गरेको नेतृत्व र अवलम्बन गरेका नितिको परिवर्तित सन्देश प्रवाह गर्दै क्रियाशिल सदस्यता व्यवस्थित रुपले अधावधिक गर्दै, आगामी असोजमा हुने पार्टीको १५ औं महाधिवेशन तयारी उत्साह र नवीन विश्वाससाथ अघि बढाउने ।
• अभियानका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटिनु भएको छ भने प्रदेश कार्यसमितिले पनि प्रतिनिधि खटाउने छ ।
प्रतिनिधिले सम्पादन गर्नुपर्ने जिम्मेवारी र अभियानको निर्देशिका आन्तरिक रुपमा पठाइएको छ । अभियान सफल बनाउन आ-आफ्नो जिम्मेवारी क्षेत्रमा सक्रिय हुन सबै साथीहरूलाई आह्वान सहित नयाँ वर्ष २०८३ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ।
जय नेपाल !
देवराज चालिसे
प्रवक्ता
