लोड हुँदैछ...
वैशाख २५, २०८३
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१, २०८३ को बैठकको निर्णय अनुसार पार्टी सभापति
श्री गगनकुमार थापाद्घारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ— नेपाल महिला संघको अध्यक्ष पदमा श्री मीनाकुमारी खरेल (चितवन) लाई नियुक्त गरी तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न देहाय बमोजिमको १७ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गर्नु भएको छ ।
क. सांगठनिक जिम्मेवारी:
१. २०८३ जेष्ठ १५ गतेभित्र पार्टी सभापतिसंगको परामर्शमा सबै क्षेत्र, वर्ग, उमेर समुह, समुदाय र भुगोलको समेत समावेशी प्रतिनिधित्व हुनेगरी संघको केन्द्रीय कार्यसमितिलाई पूर्णता प्रदान गर्ने। कार्यसमितिलाई थप गतिशील बनाउन आवश्यक परेमा सभापतिसंग परामर्श गरी पदाधिकारी र उपसमिति गठन गर्ने। यसरी कार्यसमिति गठन र जिम्मेवारी प्रदान गर्दा सबै समुदाय, भूगोल, क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी समाजमा विभिन्न क्षेत्रमा क्रियाशील र पार्टी संगठनमा क्रियाशील महिलाको प्रतिनिधित्व हुनेगरी गर्ने।
२. रिक्त रहेका वा पुनर्गठन आवश्यक रहेका तल्लो तहका सबै समितिहरूको २०८३ श्रावण मसान्तभित्र पूर्णता दिई अधिवेशन आयोजक समिति बनाउने।
३. २०८३ फागुन १५ गतेभित्र संघको केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी केन्द्रीय निर्वाचन समितिसंग समेत समन्वय गरी २०८३ श्रावण १ गतेभित्र महाधिवेशनको विस्तृत कार्यतालिका पार्टी समक्ष पेश गर्ने।
४. सदस्यता वितरण लगायतको सांगठनिक कार्य सम्पन्न गरी केन्द्रीय निर्वाचन समिति मार्फत तोकिएको समयमा पार्टीबाट स्वीकृत विधान बमोजिम संघको निर्वाचन प्रक्रिया अगाडि वढाउने। निर्वाचनसंग सम्बन्धित सम्पूर्ण काम पार्टी केन्द्रीय निर्वाचन समितिले गर्ने छ।
५. संगठनभित्र अनुशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्दै स्वच्छ, मर्यादित तथा लोकतान्त्रिक राजनीतिक संस्कृतिको विकास गर्ने। कुनै प्रकारको हिंसा, अपराध, ठगी एवं गलत आचरणमा संलग्न भएको पाइएमा संघसँगको आवद्धताबाट अलग गर्ने।
६. विगत देखि विभिन्न समयमा नेपाल महिला संघमा आवद्ध भएका व्यक्ति र सदस्यको डिजिटल अभिलेख बनाउने। नेपाल महिला संघलाई सबल, सक्षम र प्रभावकारी संगठन बनाउने।
७. समाजको विभिन्न क्षेत्रका क्रियाशील महिलाहरूलाई संघसंग जोड्न विभिन्न सिर्जनात्मक कार्यक्रम र अभियान संचालन गर्ने।
ख. राजनीतिक सामाजिक अभियान
१. नेपालको संवैधानिक व्यवस्था र यसको मर्म अनुसार महिलाहरूको प्रतिनिधित्व, अर्थपूर्ण सहभागीता र सशक्तिकरणका लागि नीति, योजना र कार्यक्रम तय गर्ने। नेपालको महिला सम्बन्धी सबै विद्यमान नीति, ऐन र कानून अध्ययन गरेर पार्टीलाई आवश्यक सल्लाह, सुझाव दिने।
२. लैंगिक विभेदका विरुद्ध र लैंगिक समानताका पक्षमा अभियान संचालन गर्ने। महिलाहरूलाई शिक्षा, स्वास्थ्य, रोजगार, व्यावसायिक तालिम र सामाजिक सशक्तिकरणमा सहयोग गर्न आवश्यक कार्ययोजना बनाउने। महिला अधिकार र महिला सम्बन्धी राष्ट्रिय-अन्तर्राष्ट्रिय चासोका विषयमा पार्टीलाई आवश्यक सल्लाह सुझाव दिने।
३. महिला हितका विषयमा गठित विभिन्न शुभेच्छुक र सहयोगी, सरकारी तथा गैर सरकारी महिला सम्वन्धी संस्थाहरूसंग आवश्यक सम्पर्क र समन्वय गरी अभिलेख राख्ने, विभिन्न कार्यक्रम कार्यान्वयन गर्ने, गराउने।
४. महामारी, प्राकृतिक प्रकोप लगायतका कारणले प्रभावित गर्भवती, सुत्केरी, वृद्ध, असक्त तथा असहाय महिलाहरूको संरक्षण र सहयोगका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने।
५. विभिन्न परिस्थितिमा महिलामाथि हुने हिंसा (बलात्कार, दुर्व्यवहार, साइबर बुलिङ लगायत) का शिकार भएका महिलाहरूको उद्धार तथा सहयोगका लागि हटलाइन/हेल्पडेष्क सञ्चालन गर्ने। महिलाको मानसिक स्वास्थ्य सम्बन्धि कार्यक्रम संचालन गर्ने।
६. समाजमा विद्यमान महिला माथि हुने हिंसा जस्तै दाइजो, बोक्सी प्रथा, छाउपडी तथा अन्य कुरीति र कुप्रथाहरू विरुद्ध प्रभावकारी सामाजिक अभियान सञ्चालन गर्ने।
७. डिजिटल तथा सामाजिक सञ्जालमार्फत हुने गालीगलौज, अपशब्द, ह्यारासमेन्ट लगायतका हिंसात्मक गतिविधि विरुद्ध सचेतनामूलक तथा निवारणमुखी अभियान सञ्चालन गरी प्रभावित महिलाका लागि नि:शुल्क कानुनी सहायता एवं विडित विरूद्ध सामाजिक र कानूनी दवाव सिर्जना गर्ने।
८. सवै तहको सरकारका नीति, कार्यक्रम र बजेटमा महिलासंग सम्बन्धित कार्यक्रम तय गर्न पहलकदमी, दवाव र खवरदारी गर्ने। प्रत्येक स्थानीय तहमा महिला सशक्तिकरण तथा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने।
९. वैदेशिक रोजगारमा गएका महिला र रोजगारीबाट फर्केका महिलाको हक अधिकार र सुरक्षाका लागि काम गर्ने। विदेशबाट फर्केका महिलाको सिपलाई उद्यमसंग जोड्न विशेष अभियान संचालन गर्ने।
१०. पार्टीको विधान, नियमावली र निर्देशन अनुसार अन्य काम गर्ने।
जय नेपाल !
कृष्णप्रसाद दुलाल
का.वा. मुख्य सचिव
